क्यान्सर रोग भन्ने शब्द सुन्ने बित्तिकै हामीलाई निकै डर लाग्छ ।
नाम सुन्नेबित्तिकै डर लाग्ने यो रोग स्वयंलाइ भयो भने कसरी सम्हालिने भन्ने सायदैले सोच्छन् होला ।
आजको दिनसम्म आइपुग्दा बिज्ञानको बिकाससङै क्यान्सरको उपचार पद्धति पनि निकै अगाडि बढी सकेको छ ।
आजभन्दा बीस बर्ष अगाडिको चिकित्सा बिज्ञान लाइ आज उभिएर हेर्दा हामीले गौरवयोग्य उपलब्धि हासिल गरिसकेका छौँ ।
हामी हरेक बर्ष फेब्रुअरी ४ मा विभिन्न नारा सहित बिश्व क्यान्सर दिवस मनाउने गर्छौ तर क्यान्सर रोगको निदान घट्नुको सट्टा दिन दिनै बढी रहेको छ ।
क्यान्सर नाम सर्बप्रथम हिपोक्रेट्स “मेडिसिनका पिता“ ले प्रयोग गरेका हुन । उनको अनुसार क्यान्सरको भित्री भाग “अक्टुपस” अर्थात गँगटो जस्तै देखिन्छ भन्ने हिसाबले कार्सिनोमा नामाकरण गरेका थिए ।
क्यानसरको पहिलो ऐतिहासिक प्रमाण पाच हजार बर्ष पहिले ईजिप्टमा भेटिएको थियो भने पहिलो बैज्ञानिक प्रमाण सहितको क्यान्सर सत्ताईस सय बर्ष पहिले ४० देखि ५० बर्षका साईबेरियन राजामा भेटिएको थियो ।
बिश्व स्वास्थ्य संगठनका अनुसार सबै भन्दा बढी ज्यान लिने रोग मध्य क्यान्सर दोश्रो स्थानमा पर्छ भने प्रमुख पब्लिक हेल्थ समस्या बनेको हो ।
बिश्वब्यापी रुपमा हेर्दा सन २०२० मा करिव १९ लाख नयाँ क्यान्सरका बिरामी फेला परेका छन भने करिब १० लाख क्यान्सरको बिरामीको मृत्यु भएको छ ।
सन २०२० मै नेपालको क्यान्सरको परिणाम हर्दा करिब २० हजार नया क्यान्सरका बिरामी फेला परेका छन भने करिब १३ हजार जना क्यानसका बिरामीको मृत्यु भएको छ । जुन निकै डर लाग्दो तथ्यांक हो ।
आजको यो लेखमा म यहि क्यान्सर रोगको बारेमा चर्चा गर्ने छु ।
क्यान्सर के हो ?
हाम्रो शरीरमा लगभग खरबौ वटा कोष (सेल) हरु रहेका हुन्छन् । जसको आफ्नै समय चक्र हुन्छ । पुराना कोषबाट नयाँ कोष बन्छन् अनि पुरानो अर्थात बुढो भएपछि ती कोष आफैँ मरेर जान्छन् । हो यहि कोषको जन्मने र मर्ने प्रकृयामा समस्या भई लगातार कोष बाँचिरहने र आवस्यकताभन्दा निकै धेरै कोष बन्ने प्रक्रिया नै क्यान्सर हो ।
क्यान्सर के ले गर्दा हुन्छ ?
हाम्रो शरिरको कोष भित्र डिएनए अर्थात् डिअक्सिराइबो न्युक्लिक एसिड प्राणीको वंशाणुको रुपमा हुन्छ जुन एक पुस्ताबाट अर्कोमा सर्छ।
डिएनए प्राणीमा आनुवंशिक नियमावली भएको अणु हो, जुन घुमाउरो सिँढीको आकारमा हुन्छ । क्यान्सर यहि डिएनएमा समस्या आई “म्युटेसन” उत्पन्न हुने गर्दछ । उक्त म्युटेसन आफ्ना आमाबुबा बाट पनि सर्न सक्दछ भने विभिन्न बाताबरणका हानिकारक तत्व (केमिकल, बिकिरण) हरुले गर्दा डिएनएमा असर पर्न गई पनि हुन सक्दछ ।
क्यान्सर सर्ने कारणहरु :
हाम्रो समाजमा क्यान्सर सम्बन्धी विभिन्न धारणा रहेपनि क्यान्सर नसर्ने रोग हो । सामान्यतया क्यान्सर रोगका कारणलाई मोडिफाएवल ( परिवर्तन गर्न सकिने ) र नन मोडिफाएवल ( परिवर्तन गर्न नसकिने ) गरेर दुई बर्गमा बिभाजन गर्न सकिन्छ ।
उमेर बढ्दै जाँदा (सत्तरी बर्ष कटेका पुरुष बृद्दहरुमा प्रोस्टेट ग्रन्थीको क्यान्सर) तथा आफ्नो परिवारमा कसैलाई सोही रोग भएमा डिएनएको माध्यमद्वारा सर्ने सम्भावना निकै हुन्छ जुन नन मोडिफाएवल जोखिमका उदाहरण हुन । त्यस्तै विभिन्न प्रकारका विकिरण जस्तै एक्सरे, सिटि स्क्यान, घाम बाट आउने अल्ट्रा भ्वाईलेट रेडिएसन, घर कारखाना साथै उत्खनन कार्यबाट निस्किने धुवा धुलो, चुरोट, रक्सी, धुवामा पकाईएको मासु ( बार्बिक्यु ), रातो मासु, नाईट्रोसोअमाईन प्रयोग भएका प्याक गरिएका खाने कुरा, मोटोपना, शारीरिक ब्याममा कमि, विभिन्न रसायन हरु ( किटनासक औषधि, आर्सेनिक, एस्बेस्टए, रवर फ्याक्ट्रीमा प्रयोग हुने रसायन ) तथा विभिन्न प्रकारका भाईरस ( जस्तै ह्युमन प्यापिलोमा भाईरस ) मोडिफाएवल जोखिम कारणका उदाहरण हुन । बिश्व स्वास्थ्य संगठनको अनुसार माथी उल्लेख गरिएका मोडिफाएवल जोखिमका कारणले ३०% क्यान्सर रोग लाग्दछ ।
क्यान्सरको प्रकार :
बिशेष गरि क्यान्सरकि दुई प्रकार छन । एक सौम्य ( बेनाईन) र अर्को घातक ( म्यालिग्न्यान्ट) । बेनाईन एकै ठाउँमा बसिरहने,आफ्नो स्वरुप परिवर्तन नगर्ने तथा ज्यान नलिने सान्त प्रकारको हुन्छ भने म्यालिग्न्यान्ट एक ठाउँबाट अर्को ठाउँमा सर्ने, आफ्नो स्वरुप परिवर्तन गर्ने तथा ज्यानै लिने प्रकारको घातक हुन्छ ।
क्यान्सर कसरी फैलन्छ ?
क्यान्सर शरीरको कुनै अङ्गमा लागिसकेपछि यदि त्यो म्यालिग्नान्ट क्यानसर हो भने क्यान्सरको आकार बढ्दै जाँदा एक स्थानबाट अर्को स्थानमा जान्छ र फैलन्छ ।
क्यान्सर फैलनको लागि विभिन्न माध्यमको आवश्यकता पर्दछ । जस्तै रगतको माध्यम, लिम्फ्याटिक सिस्टमको माध्यमद्वारा, साथै अन्य विधि द्वारा पनि ।
क्यान्सर रोग को लक्षण तथा चिन्ह हरु के कस्ता छन्?
क्यान्सर रोग जुन शरीरमा लागेको छ सोही अनुसारको लक्षणहरु हुन्छन । जस्तै फोक्सोमा क्यान्सर लागेमा सास फेर्न गार्हो हुने, खकारमा रगत देखिने, छाती दुख्ने जस्ता लक्षण देखिन्छन त्यस्तै पेटको तथा आन्द्राको क्यान्सर देखिएमा पाचन प्रणालीमा समस्या हुने, दिशामा रगत देखिने , पेट ठूलो हुँदै जाने आदि लक्षण देखिन्छन । पिसाबबाट रगत बग्नु, जिउ – मुख सुन्निनु, पिसाब फेर्न गार्हो हुनु आदि किड्नी तथा पिसाब सम्बन्धि अङ्गका क्यान्सरका लक्षणहरु हुन ।
पाठेघरको समस्या भएमा महिनावारी गडबड हुने, महिवाबारी रोकिसकेपछि पनि महिनावारी सुरु हुनु, धेरै रगत बग्ने, तल्लो पेट दुख्ने, यौन सम्पर्क गर्दा रगत देखा पर्ने, फोहोर तथा गन्हाउने पानी बग्ने, यौनाङ्ग चिलाउने, तल्लो पेटमा गिर्खा तथा मासुका डल्ला महसुस हुन्नु जस्ता लक्षण देखिन्छन।
नेपालमा महिलाहरुमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र डिम्बाशयको क्यान्सर बढी हुने भएकोले केहि महत्वपूर्ण कुरा जान्न जरूरी छ।
पाठेघरको मुखको क्यान्सर एक प्रकारको भाईरस ह्युमन प्यापिलोमा (Human Papiloma virus) नामक भाइरस मुख्य कारक तत्वको रूपमा देखा परेको छ भने महत्वपूर्ण कुरा चाहिँ गरीबी, सानो उमेरमा विवाह, धेरै बच्चा भएको आमा र सरसफाइमा ध्यान नदिँदा, असुरक्षित यौन सम्पर्कले गर्दा पाठेघरको मुखमा यो भाइरसको संक्रमणको जोखिम बढ्ने कुरा विभिन्न अनुसन्धानले देखाएको छ ।
तर , हामीले समय समयमा पाठेघरको मुखको क्यान्सर भएको छ वा छैन भनि नियमित रुपमा प्याप स्मेएर (Pap smear test), भिआईए (VIA) नामक पहिलो चरणको जाच गर्यौँ भने पनि धेरै हदसम्म यस्ता रोग हरु निर्मुल पार्न सकिन्छ ।
महिलामा स्तन क्यान्सर देखिएमा स्तनमा गाठा गुठी देखा पर्न थाल्दछन्।
बिस्तारै समय बढ्दै जादा स्तनको मुन्टा Nipple) बाट रगत तथा पिप देखा पर्नु, स्तनको आकारमा परिबर्तन हुने आदि लक्षण देखा पर्छन ।
अङ्ग अनुसारको लक्षण भएपनि धेरै जसो लक्षणहरू एकअर्कामा मिल्दाजुल्दा हुन्छन्।
जस्तै शरीर दुब्लो हुँदै जानु, खाना खान मन नलाग्नु, तौल घट्नु, थकान महसुस हुनु, शरीरका अंगहरुमा गिर्खा अर्थात् मासुका डल्लाहरू देखिनु , ती अंगहरू दुख्नु, ती अंगहरूको आकार बढ्दै जानु , ती अंगहरूको कार्य शिथिल हुँदै जानु आदि।
क्यान्सरको परीक्षण विधि र उपचार के कस्ता छन?
सुरुवाती अवस्थामा पहिचान गरेर उपचार गरेमा महिलाको स्तन क्यान्सर, डिम्बाशयको क्यान्सर र पाठेघरको क्यान्सर , यस्तै अन्य क्यान्सर पनि सुरुको स्टेजमै पत्ता लागेर उपचार गर्दा निको हुने सम्भावना ९५ प्रतिशतसम्म रहन्छ।
तर , अन्तिम अवस्थाको क्यान्सर छ भने बिरामी बचाउन सकिने संभावना लगभग शून्य हुन्छ ।
क्यान्सरको कुनै एउटा निश्चित टेस्ट भन्ने हुँदैन । बिरामीको लक्षणहरु, परिवारको रोग सम्बन्धी ईतिहास , शरीरको चेकजाँच, विभिन्न अनुसन्धान मुलक जाँचहरु जस्तै स्तन क्यान्सरमा एफएनएसि (FNAC) , म्यामोग्राम (Mammogram) , बायोप्सी (Biopsy) गरिन्छ भने अन्य क्यान्सरमा पनि बायोप्सी, भिडियो एक्सरे, सिटि स्क्यान (CT Scan), एमआरआई (MRI), बोन स्क्यान (Bone Scan), पेट स्क्यान (PET Scan) गरी डाईग्नोशिस गर्ने सकिन्छ ।
क्यान्सरको उपचार पद्धति के छ ?
क्यासरको उपचार गर्नको लागि विभिन्न मोडालिटीको प्रयोग गरिन्छ जस मध्य नेपालमा पनि धेरै जसो उपचार उपलब्ध छ ।
केमोथेरापी :
क्यान्सरको सेल बिरुद्धको औषधि मुखबाट खाने वा नसाबाट चलाएर उपचार गरिने पद्धति लाई केमोथेरापी भनिन्छ । महिलामा हुने स्तन क्यान्सर र पुरुषमा हुने प्रोस्टेट क्यान्सरमा हर्मोनल थेरापीको प्रयोग गरिन्छ।
सर्जरी :
यो उपचार पद्धतिमा क्यान्सर भएको अंगलाई सल्यक्रिया गरी शरीरबाट निकाल्ने गरिन्छ।
रेडियोथेरापी :
रेडियोथेरापी क्यान्सर उपचारको एक महत्वपूर्ण र प्रभावकारी उपचार पद्धति हो । रेडियोथेरापी एक प्रकारको विकिरण चिकित्सा हो जसले क्यान्सर कोशिकाहरूलाई मार्न उच्च ऊर्जा विकिरण प्रयोग गरि क्यान्सरको कोशिकालाई बढ्नबाट रोक्छ र क्यान्सर कोशिकाको मृत्यु गराउँछ । नेपालको पनि ठूलो ठूलो अस्पतालमा यो सेवा उपलब्ध छ ।
सरकारले क्यान्सर बिरामीको लागि के कस्तो सहुलियत दिने गरेको छ?
पक्कै पनि नेपालमा क्यान्सरको उपचार पद्धति सोचे जस्तो सजिलो छैन । बिरामीले आफ्नै खर्चद्वारा उपचार गराउनु पर्ने भएको हुनाले यसको उपचार महँगो छ । त्यस्तै सबै ठाउँमा उपचार गर्ने क्यान्सर अस्पताल पनि छैन । कतिपय बिरामीहरु उपचार गर्न बिदेशीनु पर्ने बाध्यता छ । जुन निकै दुःखद पक्ष हो ।
नेपाल सरकारले क्यान्सर बिरामीको उपचारको लागि एक लाख रुपैयाँको सुविधा दिएको छ ।
यस्तै MAX नाम गरेको अमेरिकन फाउन्डेसनले केहि औषधिहरू जस्तै ब्लड क्यान्सरका औषधिहरू पाटन अस्पताल र भरतपुर क्यान्सर अस्पतालमार्फत जिन्दगीभरि बिरामीलाई जति चाहिन्छ त्यति निःशुल्क प्रदान गराएको छ।
अहिले केन्द्र सरकार बाहेक प्रदेश र स्थानीय सरकारले पनि सहुलियत दिन थालेको छ। जस्तो बागमती प्रदेशले आफ्ना नागरिकलाई सरकारले दिने एक लाखमा थप ५० हजार दिने गरेको छ । यस्तै स्थानीय तह, नगरपालिका तथा वडाले पनि आफ्नो तरिकाले क्यान्सर उपचारको बिरामीको सहयोग गरि राखेका छन ।
डा. काजल विश्वकर्मा
Link of original Article : https://swasthyapati.com/1833
Comments
Post a Comment